अन्तरिम सरकारद्वारा फागुन २१ मा निर्वाचन घोषणा, आयोग तयारीमा

28 दिन पहिले प्रकाशित

काठमाडौँ, भदौ २९ गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग तयारीमा जुटेको छ। जेनजी आन्दोलनको चर्को दबाबपछि अन्तरिम सरकार बनेको केही दिनमै राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गर्दै नयाँ निर्वाचन मिति तोकेको हो। शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले यस अवसरलाई सदुपयोग गर्दै लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन्।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगले तत्काल छलफल सुरु गरेर दुई–तीन दिनभित्र कार्ययोजना तय गर्ने बताएका छन्। उनका अनुसार जनशक्ति र मतदाता अद्यावधिकजस्ता चुनौती समाधान गर्नुपर्नेछ। यसअघि भदौ २३ गते जेनजीको आन्दोलनमा ५१ जनाको ज्यान गएपछि मुलुक अस्थिर बन्दै गए पनि सेनाको मध्यस्थतामा भएको सहमतिको आधारमा कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको हो। अब आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यसहित सरकार र आयोग सक्रिय भएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?