सन्तानको दीर्घायु र कल्याणको कामनामा मिथिला क्षेत्रमा जितिया व्रत सुरु

2 दिन पहिले प्रकाशित

जनकपुरधाम,भदौ २९ गते । मधेसको मिथिला क्षेत्रमा आमा–हरूमध्ये सन्तानवती नारीहरूले आजदेखि जितिया पर्वको व्रत सुरु गरेका छन्। शनिबार मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएर निराहार व्रत सुरु गर्ने परम्परा अनुसार महिलाहरूले पवित्र जलाशयमा स्नान गरी व्रत सङ्कल्प गरेका थिए। अष्टमी तिथि आज बिहान ८ः४४ बजे मात्र प्रारम्भ भए पनि व्रत शनिबार रातिबाटै सुरु गरिएको हो। मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गअनुसार यो निराहार व्रत सोमबार बिहान ७ बजेदेखि नवमी तिथि लागेपछि मात्र समापन गर्न सकिन्छ।

जितियाको मूल विधानमा पितृस्मरण र सन्तानको कल्याण प्रार्थना केन्द्रमा रहन्छ। व्रत सुरु गर्नु अघि बर्तालु नारीहरूले सप्तमी तिथिमा पवित्र स्नान गरी सूर्यलाई अर्घ्य दिएर चोखोनीतो खाने परम्परा हुन्छ। दिवङ्गत मातृपक्षका महिलाहरूलाई तर्पण दिने यो व्रतमा आज सबै बर्तालु राजा जिमुतवाहनको कथा सुन्दै छन्। भविष्य पुराणमा वर्णित विश्वासअनुसार, जिमुतवाहनले विधवा ब्राह्मणीका मरेका सात छोरालाई पुनर्जीवन दिएको प्रसङ्गकै आधारमा सन्तानको सौर्यवृद्धि र कल्याणका लागि जितिया व्रत प्रचलनमा आएको मानिन्छ। श्रद्धा र निष्ठासहित गरिएको यो व्रतले सन्तानलाई सुख, आयु र समृद्धि दिने जनविश्वास मिथिला क्षेत्रमा गहिरो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?