भ्रष्टाचारविरुद्धको आन्दोलन : घाइते युवाहरूको माग, ‘२०४८ पछि सबै नेताको सम्पत्ति छानबिन होस्’

29 दिन पहिले प्रकाशित

काठमाडौँ, भदौ २९ गते ।  भ्रष्टाचारविरुद्ध जारी जेन–जी आन्दोलनमा घाइते भएका युवाहरूले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसामु ठाडो माग राखेका छन्। अस्पतालको श्ययाबाटै उनीहरूले मुलुकलाई खोक्रो बनाएको भ्रष्टाचारलाई तत्काल रोक्नुपर्ने र २०४८ सालयता उच्चपदमा पुगेका सबै सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने आग्रह गरेका हुन्। प्रधानमन्त्री कार्की शुक्रबार शपथग्रहण गरेर पदभार सम्हालेकी भोलिपल्टै शनिबार राजधानीका विभिन्न अस्पताल पुगेकी थिइन्। राष्ट्रिय ट्रमा सेन्टर, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेजलगायत स्थानमा उपचाररत घाइतेलाई भेट्दै उनले पीडितलाई ‘तपाईंहरूको आवाज र पीडाको कदर गर्दै काम गर्छु’ भनेर आश्वस्त पारिन्।

घाइतेहरूको माग भ्रष्टाचारविरुद्ध केन्द्रित रहँदा मृतकका आफन्तले भने आफ्ना प्रियजनलाई सहिद घोषणा गर्न सरकारसमक्ष जोड दिएका छन्। त्रिवि शिक्षण अस्पतालमा ३८ जनाको शव पोस्टमार्टम भइरहेका बेला १४ जनाको शव आफन्तलाई बुझाइएको छ। अस्पताल परिसर र सडकमा आफन्तको क्रन्दनले वातावरण भावुक बनेको छ। एक आमाले ‘मेरो छोराले देशका लागि रगत दियो, देशले उसलाई कसरी सम्बोधन गर्छ ?’ भन्दै गुनासो पोखिन् भने एक श्रीमतीले ‘अब दुई वर्षको बालकलाई कसरी बाबु मरेको कुरा सुनाउने ?’ भन्दै आँसु झारिन्। भाद्र २३ र २४ गतेको आन्दोलनमा राज्यले ५१ जनाको मृत्यु भएको घोषणा गरे पनि आफन्तका अनुसार अझै केही हराइरहेका छन्। घाइते करिब १,८०० भन्दा बढी रहेका छन्, जसमा धेरैको अवस्था गम्भीर छ। आन्दोलनले मुलुकमा भ्रष्टाचार, जवाफदेहिता र सहिद घोषणा जस्ता मुद्दालाई अझ तीव्र बनाइदिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?