कर्फ्युबीच मिथिलानीले जितिया पर्वको तयारी, कठोर व्रत आइतबार

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ २७ गते । राजनीतिक अस्थिरता र कर्फ्युबीच मिथिला क्षेत्रका सन्तानवती महिलाहरूले सन्तानको कल्याण र सौर्य वृद्धिका लागि मनाइने जितिया पर्वको तयारी थालेका छन्। पितृपक्ष सुरु हुनासाथै मिथिलानीबीच यो पर्वको चर्चा र तयारी हुने परम्परा भएअनुसार यसपटक अष्टमी तिथि आइतबार परेको छ। कठोर व्रत परम्पराको रूपमा चिनिने जितियामा महिलाहरू शनिबार राति ‘ओगटन’ (दर) गरेर निराहार व्रत सुरु गर्नेछन्। व्रत एक अहोरात्र र नवमीको एक घडी नाघेपछि सोमबार बिहान समापन गर्ने परम्परा छ। यसपटक व्रतको अवधि करिब ३१ घण्टाभन्दा बढी रहने पण्डितहरूको गणना छ।

मैथिल महिलाहरूले यो व्रत केवल सन्तानको कल्याणका लागि मात्र नभई दिवङ्गत आमाबज्यै, सासुबज्यै र तीन पुस्ताभित्रका मातृशक्तिलाई तर्पण दिने परम्परासमेत पालना गर्छन्। यस कारण यसलाई ‘षोडष मातृका श्राद्ध’ पनि भनिन्छ। पर्वमा व्रत बस्ने महिलाले राजा जितवाहनको कथा सुनेर आफ्ना सन्तान परोपकारी र साहसी बनून् भन्ने कामना गर्ने प्रचलन छ। भविष्य पुराणमा उल्लेख भएअनुसार द्वापरयुगमै सुरु भएको मानिने यो पर्व मिथिला संस्कृतिको अभिन्न अङ्ग मानिन्छ। महिलाको कठिन तपस्या र धार्मिक आस्थासँग जोडिएको यस पर्वका कारण मधेस प्रदेश सरकारले तीजझैँ जितियामा पनि सार्वजनिक बिदा दिने चलन कायम राख्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?