राष्ट्रपति पौडेलद्वारा आजै सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी
1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहानै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने अन्तिम तयारी गरेका छन्। शपथग्रहणसमेत आजै सम्पन्न गर्ने योजना शीतल निवास स्रोतले जनाएको छ। बिहीबार दिनभर र मध्यरातसम्म राष्ट्रपतिले प्रमुख राजनीतिक दलका नेतादेखि संविधानविद्हरूसम्मलाई बोलाएर परामर्श गरेका थिए। यस क्रममा उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमार्फत, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष भेटमार्फत र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत अन्य नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। सबै नेताहरू संविधानको दायराभित्रै कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने विकल्पप्रति सकारात्मक देखिएको स्रोतले जनाएको छ।
संविधानविद्हरूले संकटपूर्ण अवस्थामा राष्ट्रपति स्वयं संविधानको संरक्षकको हैसियतले प्रधानमन्त्री नियुक्त गर्न सक्ने सुझाव दिएका थिए। धारा ६१(४) मा उल्लेखित राष्ट्रपतिको कर्तव्यलाई आधार मानेर नियुक्ति गर्न तयारी गरिएको बताइएको छ। अन्ततः प्रधानमन्त्रीको हैसियतमै नियुक्त गर्ने सहमति बनेको छ भने कार्कीलाई आसन्न निर्वाचन सुनिश्चित गर्ने र आन्दोलनका क्रममा भएको दमन तथा युवाको मृत्युबारे छानबिन गर्ने प्रमुख जिम्मेवारी दिइने भएको छ। जेन–जी समूहको निरन्तर दबाबबीच कार्की, राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलबीच बिहीबार मध्यरातसम्म छलफल चलेको थियो। आजै उनको प्रधानमन्त्री नियुक्तिको घोषणा हुने उच्च सम्भावना देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments