अन्तरिम सरकार गठनबारे शीतल निवासमा चहलपहल, कानुनी जटिलता समाधानका प्रयास

1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २७ गते ।  अन्तरिम सरकार गठनबारे निरन्तर छलफल भइरहेको अवस्थामा जेनजी अभियन्ता सुदन गुरुङलाई समेत शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास बोलाइएको छ। जेनजीको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने प्रारम्भिक सहमति भए पनि केही कानुनी जटिलता देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्, राजनीतिक दल र सरोकारवाला पक्षसँग परामर्शलाई तीव्र पारेका छन्। संविधानको दायराभित्र रहेर निकास खोज्न जेनजी प्रतिनिधिहरू पनि सकारात्मक देखिएकाले छिट्टै अन्तरिम सरकार टुंगिने सम्भावना बलियो बनेको छ।

राष्ट्रपति पौडेलले बिहीबारदेखि लगातार विभिन्न पक्षसँग छलफल गर्दै आएका छन् भने आज बिहान ९ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेतिर सारिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। शीतल निवासमा अन्तरिम सरकार गठनबारे अन्तिम तयारी भइरहेका बेला गृह मन्त्रालयका कर्मचारीलाई नयाँ प्रधानमन्त्रीको स्वागतका लागि तयार रहन निर्देशन समेत दिइएको छ, जसले आजकै दिन सरकार गठनको सम्भावनालाई थप प्रबल बनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?