गौर कारागारबाट भागेका १७ कैदी भारततर्फ पक्राउ, अझै २१२ फरार

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ २६ गते ।  गौरस्थित कारागारबाट मंगलबार राति सामूहिक रूपमा भागेका कैदीमध्ये १७ जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरी नेपालतर्फ हस्तान्तरण गरेको छ। सीमावर्ती बैरगनिया प्रहरीसँग समन्वयपछि उनीहरूलाई पुनः गौर कारागारमा ल्याइएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए। यससँगै २९१ मध्ये हालसम्म ७९ जना नियन्त्रणमा आइसकेका छन् भने अझै २१२ जना फरार रहेको प्रशासनले जनाएको छ। पक्राउ पर्नेमा नेपालका जितेन्द्र गिरी, गणेश साह, सन्तोष राम, रणधीर यादव, विवेक मिश्र, राजन साह सोनार, अजय यादव, राजेश पटेल र मोहन साह रहेका छन्। भारततर्फ मोनु जायसवाल, राकेश कुमार, मुनिफ कुमार यादव र सुधीर कुमार महतो पक्राउ परेका छन्।

यसअघि बुधबार मात्रै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानबाट ३४ जना फरार कैदीलाई नियन्त्रणमा लिएको थियो। प्रमुख जिल्ला अधिकारी खड्काले अझै फरार रहेका कैदीलाई तत्काल सम्पर्कमा आउन वा आत्मसमर्पण गर्न आग्रह गरेका छन्। मंगलबार दिनभर जेन–जी आन्दोलन उग्र बनेका कारण सुरक्षाकर्मीहरू सरकारी कार्यालय र भवनमा आगजनी नियन्त्रणमै व्यस्त रहँदा कैदीहरूले रातिको मौका पारी कारागार भत्काएर सामूहिक रूपमा भागेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?