अन्तरिम सरकार गठन : सुशीला कार्की र दुर्गा प्रसाईं जङ्गीअड्डामा
1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अन्तरिम सरकार गठनको तयारी तिव्र बनेको छ। यसैक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र व्यवसायी दुर्गा प्रसाईंलाई नेपाली सेनाले सुरक्षासहित जङ्गीअड्डा लगिएको स्रोतले जनाएको छ। नयाँ सरकार गठनका लागि सेनाले सक्रिय समन्वय गरिरहेको छ भने सेनापति अशोकराज सिग्देलले प्रसाईंसँग हिजो पनि वार्ता गरेका थिए। भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएको आन्दोलनमा ३० जनाको ज्यान गएपछि ताजा जनादेशसहित अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।
जेनजी अभियानले प्रस्ताव गरेका कार्कीलाई काठमाडौं महानगर प्रमुख बालेन शाहले समर्थन गरिसकेका छन्। बालेनको निर्णयमा जेनजी युवाहरु सहमत भएपछि आज राष्ट्रपति रामचन्द्र पौडेलसँग सेनाको समन्वयमा छलफल हुने तय भएको छ। सेनापति सिग्देलले जेनजी प्रतिनिधि, धरान उपमहानगर प्रमुख हर्क साम्पाङ र दुर्गा प्रसाईंलगायतसँग छलफल गरिसकेका छन्। साम्पाङले पनि कार्कीलाई समर्थन जनाएका छन् भने प्रसाईंले ‘देश निकास दिने नेतृत्व जसको भए पनि स्वीकार्य हुने’ अभिव्यक्ति दिएका छन्। जेनजी युवाको भर्चुअल परामर्शमा पनि कार्कीको पक्षमा धेरैको समर्थन देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments