सिन्धुली कारागारबाट भागेका १६९ कैदीबन्दी पक्राउ

1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २६ गते । सिन्धुलीमा बुधबार बिहान कारागार कार्यालयमा आगजनी गरी मुख्य गेट तोडेपछि भागेका ४७१ कैदीबन्दीमध्ये १६९ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार रातिसम्म १६० जना र बिहीबार बिहान थप नौ जना पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये १४५ जना पुरुष र २४ जना महिला छन्। उनीहरू कमलामाई नगरपालिका–५ बेसारे, मरिण गाउँपालिका–६, भिमान, खुर्कोट र मन्दिर क्षेत्रलगायत स्थानबाट समातिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार पक्राउ परेकामध्ये १४३ जनालाई बुधबार राति नै कारागारभित्र पठाइएको छ भने महिला कैदीबन्दीलाई कारागार मर्मत कार्यका कारण अस्थायी रूपमा बाहिरै राखिएको छ। बाँकी फरार कैदीबन्दीको खोजी अझै जारी रहेको प्रहरीको भनाइ छ। यसैबीच झुम्का कारागारबाट भागेका एक जना र काठमाडौंका विभिन्न कारागारबाट भागेका थप छ जनालाई पनि नियन्त्रणमा लिइएको छ। प्रहरी प्रशासनले स्थानीयलाई फरार कैदीबन्दीबारे कुनै जानकारी भए तुरुन्त नजिकैको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?