देशव्यापी कारबाहीमा २७ पक्राउ, नगद र हतियार बरामद
1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २५ गते । काठमाडौं उपत्यकासहित देशभर कडाइका साथ सुरक्षा व्यवस्था लागू गरिएको पछिल्लो १२ घण्टामा २७ जना पक्राउ परेका छन्। नेपाली सेनाले सार्वजनिक गरेको विवरणअनुसार, भदौ २४ गते राति १० बजेदेखि भदौ २५ गते बिहान १० बजेसम्म लुटपाट, आगजनी र जनधनको क्षति पुर्याउने उद्देश्यले सक्रिय व्यक्तिहरूमाथि नियन्त्रण गरिएको हो। यस अवधिमा ३ वटा बारुण यन्त्र प्रयोग गरी आगजनी नियन्त्रण गरिएको छ। काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न समूहबाट ३३ लाख ७० हजार रुपैयाँ नगद समेत बरामद भएको सेनाले जनाएको छ।
त्यसैगरी, काठमाडौं र पोखराबाट विभिन्न प्रकारका ३१ नाल हतियारसहित म्यागजिन र गोलीगठ्ठा बरामद गरिएको छ। घटनामा संलग्नताका क्रममा २३ जना नेपाल प्रहरी र ३ जना सर्वसाधारण घाइते भएका छन्, जसको उपचार हाल सैनिक अस्पतालमा भइरहेको छ। सेनाले परिस्थिति नियन्त्रणमा रहेको जनाउँदै सबै सुरक्षा निकाय सक्रिय रहेको र नागरिकलाई शान्ति–सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments