विराटनगरमा जेनजी आन्दोलन उग्र, सालिक तोडफोड र कर्फ्यू जारी

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ २४ गते । सोमबार राजधानीमा भएको जेनजी प्रदर्शनमाथिको बर्बर दमनको विरोधमा कोशी प्रदेशको राजधानी विराटनगर आज बिहानदेखि आन्दोलित बनेको छ। आक्रोशित प्रदर्शनकारीहरूले पुष्पलाल चोकमा पुष्पलाल श्रेष्ठको सालिक तोडफोड गरेका छन्। ‘युवा मार्न पाइँदैन’ भन्ने नारासहित उनीहरूले देवकोटा चोक, महेन्द्र चोक र पुष्पलाल चोकमा सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरेका छन्।

स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ११ बजेदेखि बेलुकी १० बजेसम्म सर्वसाधारण र सवारीसाधनको आवतजावत रोक लगाउने निर्णय गरेका हुन्। यस अवधिमा कुनै पनि सभा, जुलुस वा धर्ना गर्न नपाइने चेतावनी दिँदै प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?