जेनजी आन्दोलनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्राथमिकता

1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २३ गते । नेपालमा भइरहेको जेनजी आन्दोलनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुख समाचारका रूपमा प्रकाशित गरेका छन्। बीबीसीले सरकारद्वारा २६ वटा प्रमुख सामाजिक सञ्जाल प्रतिबन्धपछि जेनजी पुस्ता सडकमा उत्रिएको जनाउँदै, अधिकांश स्कुल–कलेजका विद्यार्थी सहभागी भएको उल्लेख गरेको छ। इण्डिया टुडेले आन्दोलनमा एक जनाको मृत्यु र ८० भन्दा बढी घाइते भएको समाचार प्रकाशित गर्दै सामाजिक सञ्जाल प्रतिबन्धले आक्रोश चर्काएको लेखेको छ। टाइम्स अफ इण्डियाले ‘फेसबुक, युट्युब, एक्स ब्यान्ड नेपाल : जेनजीज टेकओभर काठमाण्डु स्ट्रिट्स’ शीर्षकमा समाचार छाप्दै, राजधानीसहित प्रमुख सहरहरूमा ठूलो संख्यामा युवाहरूले राष्ट्रिय झण्डा बोकेर र राष्ट्रगान गाउँदै प्रदर्शन गरेको बताएको छ। आजतकले संसद् परिसरमा प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको उल्लेख गरेको छ भने नवभारत टाइम्सले सोमबारको प्रदर्शनलाई ‘जेनजी रिभोल्युसन’ को नाम दिएको समाचार लेखेको छ।

अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि नेपालका युवाहरूको आन्दोलनलाई प्राथमिकताका साथ प्रस्तुत गरेका छन्। भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा देशभर फैलिएको आन्दोलनमा अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन्। राजधानी काठमाडौँ, विराटनगर, वीरगञ्ज, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्जलगायतका सहरमा प्रदर्शन तीव्र बनेको छ। आन्दोलन नियन्त्रणका लागि प्रशासनले काठमाडौँ र पोखराका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ भने अन्य सहरमा निषेधाज्ञा लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?