रौतहटमा बोक्सीको आरोपमा महिला कुटपिट, सात जनामाथि मुद्दा
1 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २३ गते । रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडियाकी ५५ वर्षीया सुशीला देवीलाई छिमेकीहरूले बोक्सीको आरोप लगाउँदै सामूहिक कुटपिट तथा अमानवीय व्यवहार गरेको खुलासा भएको छ। आइतबार दिउँसो दिनेश साह कानु, उनका छोरा गोलु साह कानु, विक्रम साह कानुलगायतले कुटपिट गर्दै उनको केश मुण्डन समेत गरेको पीडित पक्षले जनाएको छ। घटना दिनेश साह कानुकी श्रीमती संगीता देवीको उपचारका क्रममा बाटोमै मृत्यु भएपछि भएको हो। मृतकका परिवारजनले सुशीला देवीले टुनामुना गरेको आरोप लगाएका थिए।
घटनाबारे खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेको र पीडित महिलालाई उद्धार गरेको प्रहरीले जनाएको छ। तर घटनामा संलग्न तीनै जना तत्काल फरार भएका छन्। पीडित परिवारले दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै जाहेरी दर्ता गराएको छ। इलाका प्रहरी कार्यालयका डीएसपी राजन कार्कीका अनुसार बोक्सीको आरोपमा कुटपिट गर्ने सात जनामाथि मुद्दा दर्ता भएको छ र थप अनुसन्धान जारी छ।
कमेन्ट गर्नुहोस्
view comments