माइतीघरमा जेनजीको सरकारविरोधी प्रदर्शन तीव्र
1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २३ गते । काठमाडौंमा जेनजी पुस्ताका युवाहरूले माइतीघरमा भ्रष्टाचार र राजनीतिक बेथितिविरुद्ध सशक्त प्रदर्शन गरेका छन्। उनीहरूले ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘रोजगारी छैन, न्याय छैन, भविष्य छैन’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे। करदाताको पैसा कहाँ गयो भनी प्रश्न उठाउँदै उनीहरूले लोभी नेताहरूलाई अब नपोसौँ भन्ने चेतावनी पनि दिए। साथै, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै विद्यमान राजनीतिक संरचनामै परिवर्तन आवश्यक रहेको आवाज बुलन्द गरे।
प्रदर्शनका क्रममा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन्। माइतीघरबाट सुरु भएको जुलुस नयाँबानेश्वरतर्फ अघि बढ्दा बबरमहलस्थित नेपाल टेलिकम कार्यालय अगाडि फोटो च्यातिएको हो। सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्धको नाराबाजीसँगै सडक तताएका उनीहरूलाई नयाँबानेश्वरमा प्रहरीको बाक्लो घेराबन्दीमा रोकिएको छ। सहरका विभिन्न ठाउँबाट थप युवाहरू सहभागी भइरहेका कारण प्रदर्शन अझै विस्तार भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments