मधेश सरकारले १ हजार मेगावाट सौर्य विद्युत् परियोजनाको तयारी

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २२ गते । मधेश प्रदेश सरकारका उद्योगमन्त्री बसन्त कुशवाहाले प्रदेश सरकारले १ हजार मेगावाट क्षमताको सौर्य विद्युत् परियोजनाको तयारी गरिरहेको बताएका छन् । पर्सामा उद्योगी–व्यवसायी तथा सरोकारवालासँग लगानी सम्मेलन तयारीबारे गरिएको छलफलमा उनले कमला नदी आसपासको चुरे सिरानमा परियोजना ल्याउने योजना रहेको बताए । आउँदो जनवरी दोस्रो साता हुने लगानी सम्मेलनबाटै परियोजनाका लागि लगानी जुटाउने तयारी भइरहेको उनको भनाइ थियो । साथै सम्मेलनमार्फत मधेशमै युरिया मल उत्पादन गर्ने उद्योग स्थापना गर्ने सम्भावना रहेको उल्लेख गर्दै उनले प्रारम्भिक चरणमा युरिया मल र भविष्यमा डीएपी उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए ।

मन्त्री कुशवाहाले प्रत्येक जिल्लामा ५ सय शय्याको विशेषज्ञ अस्पताल निर्माण, शिक्षा, पर्यटन, लजिस्टिक, बिउबिजन तथा जैविक मल उत्पादनलगायत क्षेत्रमा पनि लगानी जुटाउने लक्ष्य रहेको बताए । छलफलमा उद्योगी–व्यवसायीहरूले भने सम्मेलनअघि सिमरा विमानस्थल र सडक स्तरोन्नति, लगानीमैत्री कानुन, एकद्वार प्रणाली, कर प्रणाली सरलीकरण, सुरक्षा प्रत्याभूति र दीर्घकालीन आर्थिक नीति आवश्यक रहेको सुझाव दिए । साथै वीरगन्जलाई आर्थिक राजधानी र जनकपुरलाई धार्मिक राजधानी घोषणा गर्ने, भारतसँग संयुक्त पर्यटन बोर्ड गठन गरी पर्यटक भित्र्याउने जस्ता प्रस्ताव पनि अघि राखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?