छोरी शिक्षामै समाजको उज्ज्वल भविष्य: अनिल झा
1 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २२ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री अनिल कुमार झाले छोरीको शिक्षा र सम्मानमै समाजको उज्ज्वल भविष्य निहित रहेको बताउनुभएको छ । उहाँका अनुसार दिवंगत संविधानसभा सदस्य तथा मधेश प्रदेश सरकारकी पूर्वराज्यमन्त्री स्व. डा. डिम्पल झाको निरन्तर प्रयासकै कारण मधेश प्रदेशमा छोरीको नाममा विभिन्न कार्यक्रम सञ्चालनमा आएका हुन् । अध्यक्ष झाले डा. झालाई केवल परिवार वा गाउँकै नभई सिङ्गो मधेश प्रदेश र समाजप्रति समर्पित नेतृका रूपमा स्मरण गर्दै महिला अधिकार, शिक्षा र पूर्वाधार विकासमा उहाँले पुर्याएको योगदान सधैं सम्झन योग्य हुने धारणा राख्नुभयो ।
रौतहटको दुर्गाभगवती गाउँपालिका–३ मत्सरीमा शनिबार आयोजित “छोरी संरक्षण तथा छात्रवृत्ति कार्यक्रम” मा बोल्दै अध्यक्ष झाले यस्ता अभियानले विद्यार्थीलाई उत्कृष्ट नतिजा हासिल गर्न हौसला दिने मात्र नभई छोरीलाई समान अवसर दिन अभिभावकलाई पनि प्रेरित गर्ने बताउनुभयो । कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा जन्मिएका ४५ जना छोरीका अभिभावकलाई नगद पाँच–पाँच हजारसहित सम्मान गरिएको वडाध्यक्ष धमेन्द्र कुमार झाले जानकारी दिनुभयो । साथै, उच्च शिक्षा हासिल गर्न किशोरीलाई प्रोत्साहित गर्ने उद्देश्यले छात्रवृत्ति र सम्मानपत्र समेत प्रदान गरिएको थियो । यस वर्ष बीबीएमा पूर्ण छात्रवृत्ति पाएकी ज्योती सर्राफलाई २५ हजार नगदसहित सम्मानपत्र, दलित समुदायकी निकी रामलाई कक्षा १२ मा ३.४ जीपीए हासिल गरेको उपलब्धिका आधारमा १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको वडाध्यक्ष झाले बताए ।
कमेन्ट गर्नुहोस्
view comments