आज राति खग्रास चन्द्रग्रहण, नेपालबाट पनि देख्न सकिने

3 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २२ गते ।  भाद्र शुक्ल पूर्णिमाको अवसरमा आज भदौ २२ गते राति खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १० बजेर ११ मिनेटमा सुरु भई १ बजेर ४१ मिनेटमा अन्त्य हुनेछ । मौसम सफा रहेमा काठमाडौंसहित नेपालका विभिन्न भागमा करिब साढे तीन घण्टा चन्द्रग्रहण अवलोकन गर्न सकिनेछ । यस अवधिमा चन्द्रमा रातो रङमा देखिनेछ, जसलाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ । यो यस वर्षको पहिलो चन्द्रग्रहण हो, भने अर्को खण्डग्रास चन्द्रग्रहण आगामी फागुन शुक्ल पूर्णिमामा लाग्नेछ ।

खगोल विज्ञानका अनुसार सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा आउँदा पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ । पूर्णरूपमा ढाकिएमा खग्रास र आंशिक ढाकिएमा खण्डग्रास चन्द्रग्रहण भनिन्छ । यस्ता घटना वैज्ञानिक दृष्टिले सामान्य भए पनि धार्मिक मान्यताअनुसार ग्रहणको समयमा पूजापाठ, खाना खाने वा सहबास नगर्नु उपयुक्त मानिन्छ । वैज्ञानिकहरूले भने ग्रहणलाई खगोल अध्ययनका लागि अवसरका रूपमा लिन सुझाव दिँदै यसलाई नाङ्गो आँखाले हेर्नु स्वास्थ्यका लागि हानिकारक हुने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?