बर्दीबासमा शिक्षकद्वारा छात्रामाथि दुर्व्यवहारको आरोप, पक्राउपछि अनुसन्धान अघि बढ्यो

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २० गते । बर्दीबास नगरपालिका–११, खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक वसन्तप्रसाद यादवलाई छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। चार छात्राको उजुरीका आधारमा पक्राउ परेका यादवमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको इलाका प्रहरी बर्दीबासले जनाएको छ। रातको समयमा फोन गरी परीक्षामा पास गराइदिने प्रलोभन देखाउनुका साथै अभद्र धाकधम्की दिई मानसिक यातना दिएको आरोपसमेत उनमाथि छ। घटनासम्बन्धी अडियो प्रमाण सार्वजनिक भएपछि शिक्षालय प्रशासनको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस प्रकरणले शिक्षालयलाई नै स्तब्ध बनाएको शिक्षालय प्रमुख रमण मेहताले बताउनुभयो। २०७७ सालदेखि करारमा कार्यरत यादवमाथि यसअघि सोही शिक्षालयका तीन छात्राले सामूहिक रूपमा विष सेवन गरेको घटनासँग सम्बन्ध जोडिएको हुन सक्ने आशंका गरिँदैछ। तीमध्ये एक छात्रा मृत फेला परेकी थिइन्। पक्राउ परेका शिक्षकलाई महोत्तरी जिल्ला अदालतले सात दिनको म्याद दिँदै न्यायिक हिरासतमा राखी थप अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शैलेन्द्र भट्टले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?