सिरहा मेयरको ‘छाडा चौपाया खाइहाल्न’ निर्देशन विवादित

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २० गते । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवले सडकमा भेटिने छाडा चौपायालाई नियन्त्रणमा लिएर जरिवाना तिराउने, जरिवाना नतिरे ‘खाइहाल्ने’ अभिव्यक्ति दिएपछि व्यापक विवाद उत्पन्न भएको छ। नगरपालिकाका कर्मचारीलाई लक्षित गर्दै उनले दिएको यो निर्देशनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै आलोचनाको विषय बनेको हो। मेयर यादवले गत बुधबार सिरहा–११ भलुवाहीमा आयोजित सरसफाइ कार्यक्रममा यो भनाइ सार्वजनिक गरेका थिए।

स्थानीयवासीले नगरपालिकाको सरसफाइ अभियान प्रभावकारी नभएको गुनासो गर्दै आएका बेला मेयर यादवले यस्तो कडा अभिव्यक्ति दिएका हुन्। तर, राज्यले सचेतना जगाउने जिम्मेवारी लिने सट्टा अराजकतामूलक निर्देशन दिएको भन्दै स्थानीय समाजसेवी अरविन्द यादवले आपत्ति जनाएका छन्। उनका अनुसार मेयरको भनाइले समस्या समाधानभन्दा उल्टै अशान्ति निम्त्याउने खतरा छ। विवादबारे बुझ्न फोन सम्पर्क गर्दा मेयर यादव भने उपलब्ध भएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?