मधेश प्रदेश सञ्चार ऐन संशोधन छलफल काठमाडौंमा गर्न लागेकोमा पत्रकार महासंघको आपत्ति

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ १९ गते । नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी छलफल काठमाडौंमा राखिएको भन्दै आपत्ति जनाएको छ। गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले बिहीबार काठमाडौंको कोटेश्वरस्थित एक रेष्टुरेन्टमा परामर्श गोष्ठी आयोजना गर्न लागेको जानकारी आफ्नो ह्वाट्सएप ग्रुपमार्फत दिएका छन्। तर, प्रमुख सरोकारवाला नेपाल पत्रकार महासंघ, मधेश प्रदेश र आठवटै जिल्ला शाखालाई औपचारिक जानकारी नदिइएको महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मधेशका रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन र तिनका संघ–संस्थाहरूलाई समेत सहभागी नगराई काठमाडौंमा छलफल राखिएकोमा यो घटना गम्भीर र नियतमा शङ्का उत्पन्न गर्ने खालको रहेको विज्ञप्तिमा भनिएको छ।

महासंघले मधेशमै हुनुपर्ने छलफल काठमाडौंमा राख्नु प्रदेश सरकारको बजेट दुरुपयोग भएको ठहर गरेको छ। सरोकारवालाको सहभागिता र सहमति बिना अघि बढाइने संशोधन प्रस्ताव अस्वीकार्य हुने र त्यसविरुद्ध प्रतिकार गर्न बाध्य हुने चेतावनी दिइएको छ। संविधान २०७२ र सञ्चार–पत्रकारिता सम्बन्धी कानूनी व्यवस्थाविपरीत हुने कुनै पनि संशोधन स्वीकार्य नहुने महासंघको अडान छ। यस्ता छलफल वा गोष्ठीहरू सरोकारवालालाई पाखा लगाएर आयोजना गरिएमा औचित्यहीन हुने विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?