टिकटकर किरण साह मन्त्रीलाई धम्की दिएको आरोपमा पक्राउ, स्वास्थ्य बिग्रिएर दुई पटक अस्पताल भर्ना

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ १९ गते । संघीय खानेपानी मन्त्री प्रदीप यादवलाई टेलिफोनमार्फत 'ज्यान मार्ने धम्की' दिएको आरोपमा पक्राउ परेकी टिकटकर किरण साहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दुई पटक वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको छ। मंगलबार राति ८ बजे अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो, तर सुधार भएपछि डिस्चार्ज गरी प्रहरी कार्यालय फर्काइएको थियो। बुधबार बिहान पेट दुख्ने र बान्ता हुने समस्या देखिएपछि बिहान १० बजे पुनः अस्पताल भर्ना गरिएको र दिउँसो २ बजे प्रहरी कार्यालय फर्काइएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले बताए। साहविरुद्ध साइबर क्राइम, ज्यान मार्ने धम्की, र झुटा अफवाह फैलाएको आरोपमा तीनवटा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ, र दोस्रो म्याद बिहीबार सकिँदै छ।

बाराको कलैया उपमहानगरपालिका–२६ घर भई हाल वीरगञ्ज–१३ मुर्ली बस्ने साहले वीरगञ्जमा हैजा फैलिएको र मन्त्री यादवले नियन्त्रणमा कुनै प्रयास नगरेको भन्दै गालीगलौज र धम्की दिएको आरोप छ। मन्त्रीका स्वकीय अधिकृत हरेन्द्र साहको जाहेरीका आधारमा शनिबार उनलाई पक्राउ गरिएको थियो। साहले सोधपुछमा आवेशमा धम्की दिएको स्वीकारेकी छन्। बुधबार उनले वीरगञ्जका मेयर राजेशमान सिंहलाई पनि फोनमा धम्की दिएको र अर्की महिलासँगको कुराकानीको अडियो भाइरल भएको छ। यो प्रकरण सामाजिक सञ्जालमा चर्चित छ, जहाँ केहीले साहको रिहाइ र केहीले कारबाहीको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?