महोत्तरीमा शिक्षकद्वारा छात्रामाथि दुव्र्यवहार, प्रहरीले नियन्त्रणमा लियो
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ १८ गते । महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक वसन्तप्रसाद यादवलाई आफ्नै छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। विद्यार्थी र अभिभावकको उजुरीका आधारमा पक्राउ परेका यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बर्दिबासमार्फत अदालतमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। विद्यार्थीहरूको भनाइअनुसार यादवले परीक्षामा पास गरिदिने प्रलोभनमा परी छात्राहरूमाथि जबर्जस्ती सम्बन्ध बनाउन खोज्दै आएका थिए।
स्थानीयवासी र सरोकारवालाहरूले गम्भीर प्रकृतिको घटनालाई ‘अभद्र व्यवहार’ को मामिलामा सीमित पारेर ढाकछोप गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। यसअघि पनि सोही शिक्षालयमा अध्यनरत तीन छात्राले सामूहिक रूपमा विष सेवन गरी आत्महत्याको प्रयास गरेका थिए, जसमा एक जनाको ज्यान गएको थियो। तर, त्यो प्रकरणमा समेत निष्पक्ष अनुसन्धान नभएको पीडित परिवारले आरोप लगाउँदै आएको छ। यसपटक सार्वजनिक भएको घटनाले विद्यालय भित्रै छात्राको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। समाजका विभिन्न निकायले यादवमाथि बलात्कारसम्बन्धी मुद्दा दर्ता गरी कडा कारबाही गर्न माग गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments