रौतहटमा ट्रक–स्कार्पियो ठोक्किँदा सात जना घाइते

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ १८ गते । रौतहटको चन्द्रपुर नगरपालिका–४ धनसर पुल नजिकै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधबार बिहान ट्रक र स्कार्पियो ठोक्किँदा सात जना घाइते भएका छन्। बिहान करिब ४ः३० बजे पोखराबाट हरिवनतर्फ आउँदै गरेको गण्डकी प्रदेशको स्कार्पियो र विपरीत दिशाबाट आइरहेको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। घाइतेमध्ये सामान्य अवस्थामा रहेका व्यक्तिहरूलाई चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूलाई बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कार्पियो चालक विष्णुप्रसाद पौडेलसहित उनका परिवारका सदस्यहरू र ट्रक चालक शिव आले मगर घाइते भएका छन्। घाइतेमध्ये सोनु माया पाइजा र भगवती गुरुङको अवस्था गम्भीर छ भने वृद्धिमाया पुनलाई टाउकोमा सामान्य चोट लागेको छ। स्कार्पियोमा रहेका दामोदर अधिकारी र ट्रकका सह–चालक राजन थापा भने सकुशल रहेका छन्। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि प्रहरीको सक्रियतामा बाटो सुचारु गरिएको र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुखले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?