मधेश प्रदेशसभाको पहिलो बैठक प्रतिपक्षद्वारा अवरुद्ध
7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ १२ गते । मधेश प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक नै प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका छन्। आर्थिक वर्ष २०८२/८३ को बजेट त्रुटिपूर्ण भएको र प्रतिपक्षको बहिष्कारबीच असार २६ गते बहुमतले पारित गरिएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्। जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले अर्थमन्त्री सुनिलकुमार यादवले राजीनामा नदिएसम्म सदन सञ्चालन हुन नदिने चेतावनी दिए। उनका अनुसार, ४६१ पृष्ठको बजेटमा पछि २९४ पृष्ठ थप गरी प्रतिपक्षको अनुपस्थितिमै पास गर्नु संसदीय मर्यादाविपरीत कदम हो।
प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र राप्रपाले संयुक्त रूपमा सदन अवरुद्ध गरेका थिए। प्रतिपक्षको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्। यसअघि बिहान ९ बजे बोलाइएको सर्वदलीय बैठक पनि प्रतिपक्षी पाँच दलले बहिष्कार गरेका थिए। आजको कार्यसूचीमा शुभकामना मन्तव्य, महालेखापरीक्षकको छैटौं र सातौं वार्षिक प्रतिवेदन तथा विषयगत समितिका प्रतिवेदन पेश गर्ने कार्यक्रम तय गरिएको थियो।
कमेन्ट गर्नुहोस्
view comments