मिथिलाञ्चलमा चौरचन पर्व श्रद्धा र उल्लासका साथ मनाइँदै
जनकपुरधाम, भदौ १० गते । मिथिला क्षेत्रमा आज चौरचन (चौरचण्ठ) पर्व श्रद्धा र विधिपूर्वक मनाइँदैछ। भदौ शुक्लपक्ष चतुर्थीका दिन पर्ने यो पर्व विशेषगरी मधेशी र थारु समुदायबीच लोकप्रिय मानिन्छ। यस वर्ष तिथि मिलेकाले हरितालिका तीज र चौरचन एउटै दिन परेको छ। यस दिन परिवारका एक जना महिला सदस्यले दिनभर उपवास बस्ने, साँझपख गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा रहेको छ। आँगनमा गाईको गोबरले लिपपोत गरिएको यज्ञस्थलमा दीप प्रज्ज्वलन गरी फलफूल, दही, पुरी, मिठाइलगायत परिकार चढाएर चन्द्रमालाई अर्घ्य दिने गरिन्छ। पूजा सकिएपछि परिवारका सदस्यहरू आँगनमै बसेर प्रसाद ग्रहण गर्ने चलन रहिआएको छ।
संस्कृतिविद्हरूका अनुसार यो पर्व मिथिला समाजको पारम्परिक लोकपद्धतिमा आधारित छ, जहाँ स्थानीय रूपमा उत्पादन भएका फलफूल, दही र कृषिजन्य परिकारलाई विशेष महत्व दिइन्छ। धार्मिक विश्वासअनुसार आजको दिन चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा अपयश लाग्ने भएकाले पूजा गरेर अर्घ्य दिनुपर्छ भन्ने मान्यता छ। पौराणिक कथा अनुसार द्वापरयुगमा स्यमन्तक मणि प्रकरणमा भगवान श्रीकृष्णमाथि लागेको कलङ्क आजकै दिन हटेको स्मरणमा यो पर्व मनाइन्छ। त्यसैले चौरचन पर्वलाई मिथिलाञ्चलमा छठपछि दोस्रो ठूलो पर्वका रूपमा सम्मानपूर्वक मनाउने गरिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments