प्रहरी र अनुसन्धानलाई नयाँ साधनले अपराध नियन्त्रणमा सहजता हुने डिआइजी चतुर्वेदीको विश्वास
9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ९ गते ।मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशभित्र शान्ति–सुरक्षा मजबुत पार्ने उद्देश्यसहित नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानलाई नयाँ सवारीसाधन उपलब्ध गराएको छ। सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राजकुमार लेखीले नेपाल प्रहरी मधेश प्रदेश कार्यालय प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीलाई २१ मोटरसाइकल र एक पिकअप भ्यानको साँचो हस्तान्तरण गर्नुभयो। त्यस्तै, राष्ट्रिय अनुसन्धानका धनुषा, महोत्तरी, रौतहट र सप्तरीका कार्यालय प्रमुखहरूलाई दुई कार र दुई पिकअप भ्यान हस्तान्तरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले सुरक्षा निकायसँग स्रोत–साधनको कमी भए पनि नागरिकको सुरक्षाप्रति प्रदेश सरकार जिम्मेवार रहेको बताउनुभयो। उहाँले यो सहयोगले प्रहरी र अनुसन्धान संस्थालाई अपराध नियन्त्रण र सेवा प्रवाहमा सहजता दिलाउने विश्वास व्यक्त गर्नुभयो। मन्त्रालयका सचिव विमलप्रसाद बरालले पनि प्रदेश सरकारको यो कदम नागरिकलाई नजिकबाट सेवा पुर्याउने प्रयासको हिस्सा भएको उल्लेख गर्नुभयो। डिआइजी चतुर्वेदीले उपलब्ध गराइएका सवारीसाधनले सुरक्षात्मक कामलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने बताउनुभयो। कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।
कमेन्ट गर्नुहोस्
view comments