रौतहटमा एक सातामै तीन सनसनीखेज घटना, सुरक्षा निकाय चुनौतीमा

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ९ गते । रौतहटमा पछिल्लो साताभित्रै भएका दुई हत्या र एक रहस्यमय मृत्युका घटनाले जिल्लामा त्रासको वातावरण सिर्जना गरेको छ। गत बुधबार गौर नगरपालिका–५ मा २२ वर्षीय सहाबुद्दीन मियाको चक्कु प्रहारबाट हत्या भएको थियो। प्रहरीले तत्कालै २० वर्षीय सनोज रामलाई नियन्त्रणमा लिएर घटनामा प्रयोग भएको चक्कु बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार दुबै जनाले लागुऔषध सेवन गरेपछि भएको झगडाले प्राणघातक रुप लिएको देखिएको प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो। यसअघि सोमबार सप्तरीका व्यवसायी उपेन्द्रकुमार भगत गौरस्थित एक लजमा मृत भेटिएका थिए। आर्थिक लेनदेनको विवादका कारण अपहरणपछि हत्या भएको परिवारको आरोप भए पनि शवमा चोटपटक नदेखिएकाले मृत्युकै कारण यकिन गर्न ल्याब रिपोर्ट पर्खिनुपर्ने प्रहरीले जनाएको छ।

आइतबार गौर नगरपालिका–२ मा अर्को सनसनीखेज घटना भयो। २६ वर्षीया रुबीकुमारी साहको शव सुटकेसमा फेला परेको हो। भारतको मुजफरपुरकी साह छोराको पढाइका लागि गौरमा डेरा गरी बस्दै आएकी थिइन्। शनिबार साँझ बजार जान्छु भनेर निस्किएकी उनी भोलिपल्ट सिर्सिया नजिक मृत फेला परेकी हुन्। घटनापछि उनका श्रीमान् शिवसागर साह रौतहट आइसकेका छन् भने प्रहरीले सिसी क्यामेरा फुटेज र मोबाइल लोकेशनको आधारमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी प्रमुख नेत्रमणि गिरीका अनुसार तीनै घटनामा अनुसन्धान तीव्र गतिमा भइरहेको छ र अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?