आठ वर्षदेखि अलपत्र गैँडाटार पुल, स्थानीयको जीवनयापन कष्टकर
3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ५ गते । रौतहटको चन्द्रपुर नगरपालिका–३, गैँडाटारमा चाँदी नदीमाथि आठ वर्षअघि सुरु भएको पक्की पुल अझै निर्माण सम्पन्न हुन सकेको छैन। सडक, विद्युत्, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत संरचना विस्तार भए पनि अधुरो पुलका कारण स्थानीयवासीको जीवन कठिन बनेको छ। वर्षा लाग्दा नदी पार गर्नै नसकिने अवस्था आउँछ भने अन्य समयमा पनि जोखिम मोलेर मात्र यात्रा गर्नुपर्ने बाध्यता छ। पुल नबन्दा बालबालिकाको विद्यालय आवतजावतदेखि बिरामीलाई अस्पताल पु¥याउन कठिनाइ भएको स्थानीयवासीले गुनासो गरेका छन्। त्यस्तै, कृषकले उत्पादन गरेका अन्न, तरकारी र फलफूलले बजार नपाउँदा उनीहरू निराश हुनुपरेको छ।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका अनुसार २५ करोडभन्दा बढी रकममा ठेक्का लिएको निर्माण व्यवसायी दयाराम साहको ढिलासुस्ती र गैरजिम्मेवार कार्यशैलीका कारण पुल अधुरो छ। सम्झौताअनुसार २०७६ सालमै सकिनुपर्ने पुललाई पटक–पटक म्याद थपिए पनि काम अलपत्र छ। हालसम्म ११ मध्ये आठ वटा स्पान तयार भइसकेका छन् भने बाँकी तीन वटामा काम सुरु गर्ने तयारी गरिएको छ। सडक डिभिजन प्रमुखले ठेकेदारलाई स्पष्टीकरण सोधिएको र यथाशीघ्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको बताए। नगरप्रमुख सञ्जयकुमार काफ्लेले पुल निर्माणमा भएको ढिलाइले स्थानीयलाई ठूलो समस्या भएको स्वीकार गर्दै संघीय र प्रदेश सरकारसँग समन्वय गरेर छिट्टै काम सकिने आश्वासन दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments