जनकपुरधाममा जसपाको सरकारविरुद्ध प्रदर्शन

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ४ गते । जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा प्रदेशस्तरीय नेता–कार्यकर्ताले मंगलबार जनकपुरधाममा सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। जनक चोकमा सडक अवरुद्ध गर्दै उनीहरूले “ओली सरकार मुर्दावाद”, “झुटा मुद्दा खारेज गर” र “गौर हत्याकाण्डका योजनाकार प्रभु साहलाई कारबाही गर” जस्ता नाराबाजी गरेका थिए। जसपा नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक रामअशिष यादवले भूमि अध्यादेशको विपक्षमा उभिएको पार्टीलाई कमजोर बनाउन सरकारले अध्यक्ष उपेन्द्र यादवमाथि गौर हत्याकाण्डमा संलग्न भएको भनी षड्यन्त्रपूर्वक फसाउने प्रयास गरेको आरोप लगाए।

उनका अनुसार अध्यक्ष यादवले पिछडिएका वर्गको अधिकारका लागि आवाज उठाएको कारण सरकार उनलाई निशाना बनाउन खोजिरहेको छ। उनले उपेन्द्र यादवविरुद्ध दायर गरिएको मुद्दा तत्काल फिर्ता नलिए बुधबारदेखि अझ सशक्त आन्दोलन सुरु गर्ने चेतावनी दिए। यसैबीच, न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गौर हत्याकाण्डसम्बन्धी अनुसन्धान अघि बढाउन परमादेश दिएको छ। २०६३ साल चैत ७ गते रौतहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबीचको झडपमा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?