फतुवा विजयपुरमा पत्रकारमाथि दुर्व्यवहार गर्ने उपमेयर छोराविरुद्ध पक्राउ पुर्जी
2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ३ गते । फतुवा विजयपुर नगरपालिकामा भएको अनियमितता र भ्रष्टाचार सम्बन्धी समाचार लेखेका पत्रकारमाथि गरिएको दुर्व्यवहार प्रकरणमा कार्यवाहक मेयर अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ। इलाका प्रहरी कार्यालय विजयपुरको अनुरोधमा सोमबार अदालतले पक्राउ आदेश दिएको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिएका छन्।
गत साउन ३० गते नगरसभा कार्यक्रममा सहभागी हुन जाने क्रममा पत्रकार कृष्ण तिवारीलाई सन्तपुर चौक नजिकै रोकेर दुर्व्यवहार गरिएको थियो। पीडितले दिएको जाहेरीपछि रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीको निर्देशनमा घटना अनुसन्धान गरी सनाउल्लाहविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ। उनलाई खोजीका लागि छुट्टै प्रहरी टोली परिचालन गरिएको छ।
प्रेस चौतारी नेपाल, रौतहट शाखाले पत्रकारमाथि भएको दुर्व्यवहारलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको बताउँदै तीव्र आपत्ति जनाएको छ। चौतारीद्वारा जारी विज्ञप्तिमा आक्रमणकारीलाई कठोर कानुनी कारबाही नगरेसम्म यस्ता घटना दोहोरिन सक्ने चेतावनी दिइएको छ।
महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकामा इन्धन र यातायात खर्चमा अनियमितता भएको प्रस्ट्याएको थियो। सो प्रतिवेदनकै आधारमा पत्रकार तिवारीले समाचार लेखेपछि उपमेयर खातुनका छोराले दुर्व्यवहार गरेको आरोप लगाइएको छ।नेपालमा पछिल्ला वर्षहरूमा स्थानीय तहका भ्रष्टाचार उजागर गर्ने पत्रकारहरू धम्की, दबाब र आक्रमणमा पर्नु सामान्य बन्दै गएको भन्दै चौतारीले चेतावनी दिएको छ।
२०७९ को स्थानीय चुनावमा कांग्रेसका गोपाल प्रसाद यादव मेयर र अम्बेया खातुन उपमेयर निर्वाचित भएका थिए। यादव विशेष अदालतबाट दोषी ठहरिएपछि खातुन कार्यवाहक बनेकी हुन्। त्यसयता उनका श्रीमान् महमद सेराजको हस्तक्षेपले नगर सञ्चालन अस्तव्यस्त भएको भन्दै जनप्रतिनिधिहरू नै असन्तुष्टि जनाउँदै आएका छन्।
कमेन्ट गर्नुहोस्
view comments