जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलविरुद्ध कारबाहीको माग, पत्रकारहरूको धर्ना

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ १ गते । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् । “आक्रमण गर्ने वकिललाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारलाई सुरक्षा देऊ” जस्ता नारासहित पत्रकारहरू आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय धनुषाको मूल गेट अगाडि धर्नामा बसेका हुन् । धर्ना कार्यक्रम नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा सञ्चालन गरिएको हो ।

गत साउन २७ गते गुठी संस्थानबाट कानुनी प्रक्रिया पूरा गरी लिजमा लिइएको चार कठ्ठा जग्गा संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारी र वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए । सो क्रममा महासंघ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए । घटनामा संलग्न पाँच वकिलविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइए पनि अहिलेसम्म पक्राउ नभएको पत्रकार महासंघले जनाएको छ । यही कारण शनिबार बसेको पत्रकार भेलाले प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?