पत्रकारमाथि आक्रमणविरुद्ध धनुषामा धर्ना

6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ १ गते । धनुषामा पत्रकारमाथि भएको आक्रमणप्रति प्रहरी प्रशासनले कुनै चासो नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले आइतबारदेखि विरोध र धर्ना कार्यक्रम गर्ने भएको छ । बिहान १०ः३० बजे महासंघ धनुषा कार्यालय र ११ बजे जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरूले प्रदर्शन गर्ने तयारी छ । गत मङ्गलबार बार एशोसिएसन धनुषाका पदाधिकारी र सदस्यहरूले गुठी संस्थानबाट प्राप्त जग्गा विवादलाई लिएर पत्रकारमाथि गरेको आक्रमणपछि यस्तो कदम चालिएको हो । महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताले पाँच दिनसम्म पनि प्रहरीले कुनै कारबाही नगरेको आरोप लगाउँदै आन्दोलन गर्नुपर्ने बाध्यता आएको बताएका छन् ।

उक्त घटनामा महासंघ मधेशका महासचिव शैलेन्द्र महतोको खुट्टा भाँचिएको छ भने पत्रकार दिवाकर राय, अलिन निराला, ज्योति झा र विनिता यादवसहित छ जनाभन्दा बढी घाइते भएका छन् । पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले प्रहरी प्रशासन निष्क्रिय रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनका अनुसार गुठी संस्थानसँग २० वर्षका लागि लिज सम्झौता गरी भवन निर्माणको तयारी भइरहेका बेला बार धनुषाले आफ्नो भन्दै जग्गा कब्जा गर्न खोज्दा विवाद चर्किएको हो । वकिलहरूले “अदालत हाम्रो गोजीमा छ” भन्दै पत्रकारमाथि अपशब्द र हातपात गरेको आरोप समेत उनले लगाएका छन् । यसअघि पत्रकार महासंघले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै घटनाप्रति ध्यानाकर्षण गराइसकेको छ ।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?