लहानमा ८५ वर्षीय वृद्धको हत्या प्रकरणमा दुई युवक पक्राउ

20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ३० गते । सिरहाको लहान नगरपालिका–२४ का ८५ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। धनगडीमाई नगरपालिका–२ भवानीपुरका २३ वर्षीय महेश चौधरी र त्यहीका १९ वर्षीय प्रशान्त कुमार मण्डललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यही साउन १४ गते धनगडीमाई नगरपालिका–११ आम चोकस्थित आफ्नै घरमा सुतिरहेका यादवमाथि धारिलो हतियार प्रहार हुँदा टाउको र कानमा गम्भीर चोट लाग्यो। उपचारका क्रममा सोही दिन राति ८ः२० बजे लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको थियो।

घटनापछि विभिन्न निकायको संयुक्त अनुसन्धान टोलीले घटनास्थल नजिकैको सिसिटिभी फुटेजको आधारमा साउन २४ गते महेश चौधरीलाई खुकुरीसहित र साउन २३ गते इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका प्रशान्त मण्डललाई पक्राउ गरेको हो। पत्रकार सम्मेलनमा प्रहरी प्रमुख अनन्तराम शर्माले लागुऔषध दुव्र्यसनका कारण शान्ति सुरक्षा चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै, ‘‘यो अन्तर्राष्ट्रिय स्तरको समस्या भएकाले प्रहरीको मात्र प्रयासले नियन्त्रण सम्भव छैन, सबैको सहयोग आवश्यक छ,’’ भन्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?