जनकपुरधाममा पत्रकारमाथि आक्रमणप्रति मानव अधिकार आयोगको औपचारिक छानबिन सुरु

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २८ गते ।अधिवक्ताहरूको समूहबाट पत्रकारहरूमाथि भएको सांघातिक आक्रमणबारे राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयले औपचारिक अनुसन्धान प्रारम्भ गरेको छ। बुधबार आयोगको टोली नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यालयमा पुगेर घटनासम्बन्धी विस्तृत विवरण संकलन गरेको हो। मानव अधिकार अधिकृत किरण घिमिरे, राहुलकुमार ठाकुर र सूचना प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झासहितको टोलीले महासंघका पदाधिकारी र घाइते पत्रकारहरूसँग प्रत्यक्ष भेट गरी विवरण लिएको जनाएको छ। टोलीले अन्य सरोकारवालासँग पनि छलफल गर्दै प्रमाण सङ्कलन गरेको छ।

महासंघका अनुसार, आक्रमणबाट महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिलकुमार निरालाको आँखा सुन्निएको र पत्रकार दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै, उपाध्यक्ष ज्योति झा र पत्रकार विनिता यादवमाथि लैङ्गिक संवेदनशीलताविपरीत दुर्व्यवहार भएको आरोप पनि लगाइएको छ। महासंघले दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन र कानुनी शासनको मर्यादा कायम गर्न आग्रह गरेको छ। आयोगका प्रतिनिधिहरूले उपलब्ध प्रमाण र थप अनुसन्धानका आधारमा शीघ्र प्रतिवेदन पेस गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?