पत्रकार महासंघको गुठी संस्थानसँग जग्गा सम्झौता भएपछि बार एशोसिएशनद्वारा जग्गामा कब्जा

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेस प्रदेशसँग सम्झौता भएको जग्गामा बार एशोसिएसन नेपाल जनकपुरधामले कब्जा गरेको छ । गुठी संस्थानसँग सम्झौता भएको जग्गामा बारले बलजबदी कब्जा गरेको हो । बारले उक्त जग्गालाई पार्किङ स्थल बनाउँदै अतिक्रमण गरेको हो । साउन २० गते बारले एक सूचना जारी गर्दै २१ गतेदेखि भुतनाथ मन्दिरको छेउमा रहेको महासंघ सँग सम्झौता भएको गुठीको जग्गामा कानुन व्यवसायीहरुलाई गाडी पार्किङ गर्न भनेका थिए ।  महासंघका प्रदेश अध्यक्ष श्यामप्रसाद बनजाराले गुठीसँग वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँमा ३ कट्ठा जग्गाको सम्झौता भएको बताए ।उनले गुठीसँग विधिवत रुपमा सबै कानुनी प्रक्रिया पुरा गरेर २० वर्षको लागि जग्गाको सम्झौता भएपछि महासंघको गतिशीलतालाई कम गर्न विभिन्न प्रकारको खेल सुरु भएको आरोप लगाए । 

महासंघले प्राप्त गरेको जग्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष बनजाराले बारले  यो ठाउँमा कसैले पनि भवन बनाउनुहुँदैन, आउनुहुँदैन भन्ने पूर्वाग्रह ढंगले जुन व्यवहार गरेकाले यो अत्यन्त आपत्ति जनक रहेको टिप्पणी गरे ।उनले बारसँग मौखिक सम्झौता समेत भएको अवस्थामा अदालतमा रिट हालेको बताए ।अध्यक्ष बनजाराले अनौपचारिक रुपमा हिजो मात्र यो जग्गामा रिट परेको आफूहरूलाई जानकारी भएको बताए । उनले भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको आफूहरूलाई जानकारी भएको बताए । ‘विद्वान अधिवक्ताहरुले यो ढंगले व्यवहार प्रदर्शन गर्नु, त्यो विद्वतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ’, उनले अगाडि भने, ‘कुनै पनि अर्थमा उहाँहरुको यो कामको कुनै पनि नागरिकले यो तहसम्म पुगेर अरुले कानुनी रुपमा प्राप्त गरिसकेको जग्गा आफ्नो भन्नु कहाँ सम्मको कुरा हुन्छ ।’

अध्यक्ष बनजाराले यो ठाउँमै आफूहरूले प्रदेशको भवन बनाउने बताए । अनावश्यक किचलो सिर्जना गरेर गतिशीलतामाथि अवरोध सृजना गरे पनि ५ गते नै यो विषयको टुङ्गो लाग्नेमा आफूहरूलाई विश्वास रहेको बताए । बनजाराले अदालतले सबैलाई न्याय दिएकाले आफुहरु पनि न्याय पाउने आशावादी रहेको बताए । महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिले साउन १९ गते महासंघको गुठी संस्थानसँग ३ कट्ठा जग्गाको सम्झौता भएको बताए । उनले जेठ ७ गते गोरखापत्रमा ३ वटा जग्गाको लागि सूचना प्रकाशित भएकोमा विभिन्न संघ संस्थाले प्रस्ताव पेस गरेकोमा प्राविधिक, आर्थिक प्रस्ताव पेस गरेपछि महासंघले भरेको प्रस्ताव पास भएको बताए । गुठीले साउन ९ गते जग्गा परेको भनेर सम्झौता गर्न पत्र पठाएपछी साउन १९ गते सम्झौता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?