सिरहा–सप्तरी सीमा स्थित बलान नदीमा डुबेर १४ वर्षीय बालक बेपत्ता, खोजीकार्य जारी

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २७ गते । सिरहा र सप्तरीको सीमामा रहेको बलान नदीमा डुबेर बेपत्ता भएका १४ वर्षीय घनश्याम यादवको अवस्था अझै अज्ञात छ। सखुवानन्कारकट्टी गाउँपालिका–३ परियारपुरका शिवकुमार यादवका छोरा घनश्याम सोमबार बिहान खेल्दै नदी किनार पुगेका थिए। बिहान ९ बजेर ५५ मिनेटमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनाबारे करिब ११ बजे मात्र प्रहरीले जानकारी पाएको थियो।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा खोजतलासमा खटिएका छन्, तर अहिलेसम्म बालकको सुराग फेला परेको छैन। इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी कैलाश राईका अनुसार बालकको खोजीका लागि बर्दिबासबाट गोताखोर टोली बोलाइएको छ। खोजीकार्यलाई तीव्र पारिएको र बालकलाई सक्दो छिटो फेला पार्न सबै प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?