खडेरीले मधेसका किसान संकटमा, २२ हजारले मागे सिँचाइ सहयोग

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २६ गते ।  खडेरीको प्रभावले मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी बारा जिल्लामा ९५ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत रोपाइँ भएको छ। प्रदेशको कुल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये धान रोपाइँ हुने क्षेत्र तीन लाख ७२ हजार ६४५ हेक्टर हो, जसमा हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा मात्र रोपाइँ भएको हो। पर्याप्त वर्षा नपरे पनि बोरिङ र नहरमार्फत सिँचाइ गरेर केही जिल्लामा रोपाइँ सहज भए पनि धनुषामा कमला नदी सुक्दा किसानहरूलाई ठूलो चुनौती परेको छ।

यस वर्ष अधिकतम ८० प्रतिशत मात्र रोपाइँ हुने अनुमान गरिएको छ, जसका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत गिरावट आउने निर्देशक यादवको आकलन छ। सुक्खा र खडेरी प्रभावित किसानका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सरकारले तत्काल राहत दिने घोषणा गरेको छ, जसका लागि २२ हजार ५२ किसानले आवेदन दिएका छन्। तर, मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार यस सहयोगका लागि विनियोजित १८ करोड रुपैयाँ पर्याप्त छैन र प्रदेश सरकारले संघीय सरकारको निर्णयको पर्खाइ गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?