तराईमा सिँचाइको स्थायी समाधानका लागि सरकारको दृढता : प्रधानमन्त्री ओली

3 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै उनले आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर दीर्घकालीन सिँचाइ व्यवस्थाको सुरुवात गर्ने योजना रहेको स्पष्ट पारे। खडेरी र पानीको अभावका कारण यस वर्ष किसानले भोगेको कठिनाइ स्मरण गर्दै उनले सरकारको तर्फबाट सुक्खाग्रस्त क्षेत्र घोषणा, राहत तथा सहयोगका विशेष निर्णय र तत्कालका लागि ५०० वटा डिपबोरिङ जडानको कार्य सुरु गरिएको जानकारी दिए।

ओलीका अनुसार दीर्घकालीन समाधानका लागि सुनकोसी–मरिन डाइभर्सन आयोजना अघि बढाइएको छ। वर्षासँगै तराईका खेतबारीमा हरियाली फर्कन थालेको उल्लेख गर्दै उनले किसानको मुस्कान, जमिनमा हरियालीको सुगन्ध र खाद्यान्नको सुरक्षित भविष्यलाई सरकारको लक्ष्यको रूपमा प्रस्तुत गरे। साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको र केही दिनमै सम्पूर्ण खेतमा हरियो सपना लहराउने विश्वास व्यक्त गर्दै उनले सबै किसानलाई अभिवादन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?