आत्मीय सम्बन्धको पवित्र उत्सव रक्षाबन्धन पर्व
2 दिन पहिले प्रकाशित

संतोष कुमार मिश्र
जनकपुरधाम, श्रावण २२ गते । रक्षाबन्धन पर्व एक आत्मीय सम्बन्धको पवित्र उत्सव हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइन्छ । जुन तिथिमा प्रकृति पनि हरियालीले सजिएको हुन्छ, जसले यो चाडलाई अझ रमणीय बनाउँछ । रक्षाबन्धनको अर्थ हुन्छ “रक्षाको बन्धन“ । रक्षाबन्धनको दिन विशेषगरी बिहानै घरको सरसफाइ गरी पूजा सामग्री तयार पारिन्छ । दाजुभाइहरू नुहाएर सफा लुगा लगाउँछन् र दिदीबहिनीहरू पूजा गर्न बस्छन् । पूजा सुरु भएपछि दिदीबहिनीहरूले दाजुहरूको हातमा रक्षासूत्र बाँध्छन् जसलाई ‘राखी’ भनिन्छ । राखी बाँध्नुअघि दाजुहरूको निधारमा अक्षता र रातो टीका लगाइन्छ । राखी बाँधेसँगै मिठाई खुवाइन्छ र दीर्घायु, सफलता र स्वास्थ्यको कामना गरिन्छ । दाजुभाइहरूले पनि बहिनीहरूलाई उपहार दिँदै आफ्नो जीवनभर सुरक्षा गर्ने वाचा गर्दछन् । कतिपय ठाउँमा बहिनीहरू दाजुका घरमा राखी बाँध्न जान्छन्, भने कतै पत्रमार्फत् वा परदेशमा रहेका दाजुहरूलाई राखी पठाएर यो पर्व मनाउने गरिन्छ । राखीले केवल दाजुभाइको हात सजाउने मात्र होइन, आत्मीयता, प्रेम, विश्वास र कर्तव्यको स्मरण गराउँछ । यो चाड नेपाल, भारत लगायत अन्य हिन्दू संस्कृति भएका देशहरूमा पनि मनाइन्छ । यसले पारिवारिक सम्बन्धलाई बलियो बनाउने कार्य गर्दछ ।
रक्षाबन्धनको ऐतिहासिक पृष्ठभूमि अत्यन्तै रोचक र प्रेरणादायक रहेको छ । हिन्दू धार्मिक ग्रन्थहरूमा विभिन्न कथाहरू पाइन्छन्, जसले यस पर्वको महत्व झल्काउँछन् । एउटा प्रसिद्ध कथा अनुसार, देवता इन्द्र युद्धमा पराजित हुन लागेका बेला उनकी पत्नी इन्द्राणीले रक्षासूत्र बाँधेर उनको रक्षाका लागि प्रार्थना गरेकी थिइन् । त्यो रक्षासूत्रको प्रभावले इन्द्रले विजयी प्राप्त गरेका थिए । त्यसैगरी, महाभारतमा पनि जब श्रीकृष्णले द्रौपदीको साडी बचाउन चमत्कार गरे, त्यसअघि द्रौपदीले श्रीकृष्णको घाइते औँलामा कपडाको टुक्रा बाँधेर “रक्षा“ गरेकी थिइन् । त्यसपछि श्रीकृष्णले जीवनभर द्रौपदीको रक्षा गर्ने वाचा गरेका थिए । यी कथाहरूले रक्षाबन्धन केवल दाजु–बहिनीको पर्व मात्र नभई, रक्षा, विश्वास र समर्पणको गहिरो सन्देश दिने पर्व भएको देखाउँछन् । रक्षाबन्धन केवल व्यक्तिगत सम्बन्धको पर्व होइन, यसले सामाजिक एकता र सद्भावको सन्देश पनि दिन्छ । यसले परिवारका सदस्यहरूबीच आत्मीयता र विश्वासको सम्बन्ध बलियो बनाउँछ । आजको आधुनिक युगमा पनि रक्षाबन्धनको महत्व उस्तै रहेको छ । प्रविधिको सहायताले विदेशमा रहेका दाजुभाइलाई पनि राखी पठाउन सकिने हुँदा दूरीले सम्बन्धलाई टुटाउन सक्दैन ।
कमेन्ट गर्नुहोस्
view comments