धनुषामा तस्कर र प्रहरीबीच झडप, अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलायो गोली
3 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २२ गते । धनुषाको दुहबी ढालाचोक नजिकै सशस्त्र प्रहरी र तस्करबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ। बुधबार राति करिब ८ बजे विदेह नगरपालिका–२ स्थित आँपको बगैंचामा मैनाथपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले तस्करीको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो।
झडपका क्रममा करिब ५०–६० जना स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीले घटनास्थलबाट ज.११प.६४११ नम्बरको मोटरसाइकल र ५० हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ। जिल्ला प्रहरी प्रमुख नरहरि रेग्मीका अनुसार, तस्करी नियन्त्रणको प्रयासका क्रममा बाध्य भएर गोली चलाउनु परेको हो। उनले दुई साताअघि पनि सोही स्थानमा प्रहरी र तस्करबीच विवाद भएको जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments