सप्तरीमा प्रहरीको गोलीबाट स्थानीयको मृत्यु, राजविराजमा विरोध प्रदर्शन तीव्र
13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २१ गते । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति प्रहरीको गोली लागी स्थानीय लालु यादवको मृत्यु भएको घटनापछि बुधबार बिहान राजविराजस्थित जिल्ला प्रहरी कार्यालय अगाडि तनावपूर्ण अवस्था सिर्जना भएको छ। आक्रोशित स्थानीयले टायर बालेर विरोध प्रदर्शन गर्दै दोषीलाई कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
प्रदर्शनकारीहरूले यादवमाथि प्रहरी ज्यादती भएको आरोप लगाउँदै उनलाई गोली प्रहार गर्ने इन्स्पेक्टर वीरेन्द्रकुमार यादवमाथि कडा कारबाहीको माग गरेका छन्। मृतक यादव सोही गाउँको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले भने स्थिति नियन्त्रणका लागि तीन राउन्ड गोली प्रहार गरिएको जनाउँदै यादवको तिघ्रामा गोली लागेर उपचारका क्रममा ज्यान गएको बताए। घटनास्थलबाट भारत तर्फ तस्करी गर्न लागिएको ८० कार्टुनभन्दा बढी मदिरा बरामद गरिएको दाबी प्रहरीको छ।
कमेन्ट गर्नुहोस्
view comments