गण्डक नहरमा पानीको आपूर्ति बढ्दा पर्सा–बारा क्षेत्रमा रोपाइँले गति लिने संकेत
9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २० गते । पछिल्ला दिनमा भारतले गण्डक नहरमा साढे ६ सय क्युसेक पानी दिन थालेपछि नहरमार्फत सिँचाइ सुविधा विस्तार हुँदै गएको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका इन्जिनियर सुरेशप्रसाद साहका अनुसार भारतले पछिल्ला चार दिनदेखि ६५० देखि ६७५ क्युसेक पानी उपलब्ध गराइरहेको छ। आकासे वर्षा समेतको साथले गर्दा नहरको पानीको माग घटेपछि सोमबार पर्साको साटो बारातर्फ बढी मात्रामा पानी पठाइएको हो।
बाराको सिम्रौनगढ क्षेत्रसम्म पानी पुगिसकेको र बसबरियापछि मंगलबार बिहान रौतहटसम्म पुग्ने अनुमान गरिएको छ। यद्यपि भारतले अझै गण्डक सम्झौताअनुसारको ८५० क्युसेक पानी नदिए पनि हाल आएको पानी र निरन्तरको वर्षाले आगामी दुई–तीन दिनभित्र पर्सा र बाराका अधिकांश किसानले धान रोपाइँ सम्पन्न गर्ने सम्भावना रहेको इन्जिनियर साहले बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments