मर्यादित पत्रकारिताका लागि आचारसंहिताको पालना अनिवार्य : मिडिया काउन्सिल
9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २० गते । मधेश प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेशकुमार यादवले मर्यादित, व्यवस्थित र विश्वसनीय पत्रकारिता कायम गर्न पत्रकार आचारसंहिताको कडाईका साथ पालना अनिवार्य रहेको स्पष्ट गर्नुभएको छ। सोमबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा पत्रकारहरूसँग भएको अन्तरक्रियामा बोल्दै उहाँले व्यावसायिक पत्रकारिताको जग आचारसंहिताबाट सुरु हुने उल्लेख गर्दै, पत्रकारको क्षमता अभिवृद्धिमा मिडिया काउन्सिलले विशेष ध्यान दिएको जानकारी दिनुभयो। साथै, मिडियामैत्री वार्षिक योजना तयार पार्दै पत्रकारहरूसँगको सुझावलाई आत्मसात् गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
पत्रकार कल्याणका लागि पत्रकार कल्याण कोष स्थापना गर्ने योजना रहेको बताउँदै अध्यक्ष यादवले हालसम्म मधेश प्रदेशमा ६२ वटा अनलाइन मिडिया दर्ता भइसकेको जानकारी दिनुभयो। ती मिडियालाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन पहुँचमा ल्याउन कार्यविधि निर्माण प्रक्रिया अघि बढाइएको छ। कार्यक्रममा सहभागी अन्य वक्ताहरू—मिडिया काउन्सिलकी सदस्य रिंकु मिश्र, महासंघकी केन्द्रीय सदस्य ललिता साह, सञ्चार प्राधिकरणका पूर्वअध्यक्ष श्यामसुन्दर यादव, महासंघ सप्तरी अध्यक्ष श्रवणकुमार देव, पूर्वअध्यक्ष वैद्यनाथ झा, धिरेन्द्र साह र मनोज माझी—ले युट्युबर र अनियन्त्रित मिडियाबाट फैलिएको विकृति नियन्त्रण गर्न काउन्सिल अझ सक्रिय बन्नुपर्नेमा जोड दिएका थिए।
कमेन्ट गर्नुहोस्
view comments