मधेसमा स्वास्थ्य बीमामा आबद्ध हुनेको सङ्ख्या सात लाख ७९ हजार नाघ्यो
1 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १९ गते । मधेस प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनेको सङ्ख्या सात लाख ७९ हजार दुई सय ६५ पुगेको छ। साउन १६ गतेसम्मको तथ्याङ्कअनुसार, प्रदेशका आठै जिल्लाबाट करिब १३ प्रतिशत जनसंख्या स्वास्थ्य बीमामा सहभागी भइसकेको स्वास्थ्य बीमा बोर्डका प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाले जानकारी दिएका छन्। प्रदेशमा कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको जनगणना २०७८ का तथ्याङ्कले देखाउँछ। कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी काम भइरहेको कुशवाहाले बताए।
प्रदेश सरकारको आर्थिक सहयोगमा सहिद परिवारका लागि निःशुल्क बीमा सुविधा उपलब्ध गराइएको छ, तर सबै परिवारलाई समेट्न नपाएको बताइएको छ। क्यान्सर, मुटु रोग, डायलासिस, हेड र स्पाइनल इन्जुरीजस्ता जटिल रोगका बिरामीका लागि थप रु एक लाखको बीमा सीमा निर्धारण गरिएको छ। साथै, नवीकरण गर्नेहरूलाई शुल्कमा सहुलियत दिइएको छ। २०७३ सालदेखि सुरु भएको यो कार्यक्रम २०७५ सालमा सम्पूर्ण मधेस प्रदेशमा विस्तार गरिएको हो र हाल प्रत्येक वडाका दर्ता सहयोगीमार्फत नागरिकलाई घरमै पुगेर बीमामा सहभागी गराउने अभियान चलाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments