जनकपुरमा इ–रिक्सा र अटोको अव्यवस्थित सञ्चालनले बढायो समस्या, यातायात व्यवसायीको नगरपालिकालाई ज्ञापनपत्र
7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १८ गते । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा पछिल्लो समय अत्यधिक रूपमा विद्युतीय रिक्सा र अटो रिक्साको अनियन्त्रित र अव्यवस्थित सञ्चालनले यात्रु, पर्यटक र विशेषगरी बस व्यवसायीहरूलाई गम्भीर समस्या भोग्न बाध्य बनाएको छ । इरिक्सा र अटो रिक्साला व्यवस्थीत बनाउन माँ जानकी जनकपुरधाम यातायात प्रा. लि. ले नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । संघले प्रस्तुत गरेको ज्ञापनमा जनकपुरधामको राजमार्ग क्षेत्रभित्र इ–रिक्सा र अटो रिक्साले मनपरी ढंगले यात्रु ओसार–पसार गरिरहेको, तय गरिएका मापदण्ड र नियमहरूको उल्लंघन गर्दै ट्राफिक व्यवस्थालाई अस्तव्यस्त पारिरहेको उल्लेख गरिएको छ । यसले सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरूलाई असहज बनाएको संगै बस व्यवसायीहरूको आम्दानी र दिगो व्यवसायमा पनि नकारात्मक प्रभाव परेको संघको भनाइ छ ।
कानुनतः सबैले आ–आफ्नो अधिकारको प्रयोग गर्न पाउने भए पनि त्यही अधिकारको दुरुपयोगले अन्य व्यवसायमा संलग्न पक्षहरूलाई समस्या पार्नु अनुचित हुन्छ । संघका अध्यक्ष मनोज कुमार चौधरीका अनुसार जनकपुरधाममा बिना अनुमति तथा तोकिएको क्षेत्रभन्दा बाहिर सञ्चालनमा रहेका सवारी साधनहरू नियन्त्रणबिना सडकमा छाडा रूपमा चलिरहेका छन्, जसले दुर्घटनाको जोखिम बढाउनुका साथै ट्राफिक जामको स्थिति सिर्जना गरिरहेको छ ।संघले नगरपालिकासँग आवश्यक कार्यविधि निर्माण गरी विद्युतीय रिक्सा तथा अटोको सञ्चालनलाई स्पष्ट ढंगले नियमन गर्न माग गरेको छ । साथसाथै राजमार्ग क्षेत्रमा यात्रु ओसार–पसारमा रोक लगाउनु, बिना रुट परमिट सञ्चालन भइरहेका सवारी साधनको नियमन गर्नु, तथा यात्रुको सुरक्षाका लागि अनुगमन प्रणालीलाई बलियो बनाउनु आवश्यक रहेको पनि औंल्याइएको छ । पछिल्लो समय जनकपुरधामको व्यस्त सडक र प्रमुख ट्राफिक मार्गहरूमा अनियन्त्रित सवारी साधनहरूको संख्या बढ्दो क्रममा रहेकाले अब नगरपालिका गम्भीर नबने यो समस्या अझै भयावह हुन सक्ने संघको चेतावनी छ । त्यसैले संघले तत्काल पहल लिएर कानुनी ढाँचामा सवारी व्यवस्थापन गर्न नगर प्रमुखको ध्यानाकर्षण गराएको हो ।
कमेन्ट गर्नुहोस्
view comments