वीरगन्जको पानी संकट समाधान खोज्दै अमलेखगन्जमा स्थलगत निरीक्षण

19 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १६ गते । पानीको चर्को अभाव झेलिरहेको वीरगन्ज महानगरमा भूसतहको पानीको संरक्षणमार्फत दीर्घकालीन समाधान खोज्ने उद्देश्यले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र महानगरका अगुवाहरूले बाराको अमलेखगन्ज भावर क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। समितिका अध्यक्ष डा. किरण पौडेल, वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगन्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रयासबाट स्थानीय पानीको स्रोत संरक्षण गरेर कसरी दैनिक लाखौँ लिटर पानी वितरण भइरहेको छ भन्ने अवलोकन गरेका हुन्।

निरीक्षणपछि महानगर प्रमुख सिंहले वीरगन्जमा घट्दो पानी सतहलाई अमलेखगन्जको जस्तै प्रविधि र संरचनाबाट सुधार गर्न सकिने आशा व्यक्त गरे। समितिका प्राविधिक इन्जिनियर अनिल सिन्हाले भावर क्षेत्रको पानी संरक्षण गरेर वीरगन्जको समस्या समाधान गर्न सकिने बताए। भेडाहा खोला क्षेत्रको स्रोतलाई केन्द्रित गरेर पोखरी तथा जलसङ्ग्रह संरचना निर्माण गरी जमिनमुनिको पानी सतह बढाउन सकिने सुझाव पनि उनले दिए। अमलेखगन्जको सफल अभ्यासलाई उदाहरणका रूपमा लिएर वीरगन्जमा कार्यान्वयन गर्ने सम्भावनाको अध्ययन भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?