१५ वर्षीया अञ्जलीको हत्यामा धनुषा प्रहरीको खुलासा : प्रेम सम्बन्धले निम्त्यायो त्रासदी
1 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १५ गते । जनकपुरधाममा १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको हत्याको घटनामा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति उनकी आमाको प्रेमी रहेको खुलासा भएको छ। धनुषाको बटेश्वर गाउँपालिका-५ घर भई जनकपुरधाम उपमहानगरपालिका-४, कटैयाचौरीस्थित डेरामा बस्दै आएकी अञ्जलीको हत्याको आरोपमा पक्राउ परेका व्यक्ति ३५ वर्षीय रामबाबु साह हुन्। यो कुरा बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो।
रामबाबु साहलाई बुधबार राति करिब १०:३० बजे क्षीरेश्वरनाथ नगरपालिका-९, ईच्छापुरबाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले बताए। साहले यसअघि आफ्नी श्रीमतीको हत्या गरेको अभियोगमा पाँच वर्ष जेल सजाय काटेर २०७७ मा रिहा भएका थिए। प्रहरीका अनुसार सोमबार राति ११:३० बजे साहले खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो। सोही हमलामा अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका-१, ढल्केवरकी १४ वर्षीया राशा यादव घाइते भएका छन्। आशाको धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ र उनको अवस्था गम्भीर छ।
प्रहरी अनुसन्धानले हत्याको पछाडि जटिल व्यक्तिगत विवाद मुख्य कारण रहेको देखाएको छ। प्रवक्ता सिंहका अनुसार साहले जेलबाट छुटेपछि दोस्रो विवाह गरेका थिए र पछि मदिरा पसल सञ्चालन गर्ने आशासँग प्रेम सम्बन्धमा जोडिए। आशाको श्रीमानलाई यो सम्बन्धको बारेमा थाहा भएपछि गाउँमा छलफल भई आशा साहसँग बस्ने सहमति भएको थियो। आशाको श्रीमानले दुई छोरा र एक छोरीको जिम्मेवारी लिने सहमति भएपछि दुवैजना छुट्टाछुट्टै बस्दै आएका थिए। तर, आशाको आर्थिक अवस्था सुध्रिएपछि उनले साहबाट टाढिन थालेर पुरानो श्रीमानसँग नजिकिन थाले, जसले साहलाई आक्रोशित बनायो।
साहले प्रहरीलाई दिएको बयानमा आशाले उनको फोन नउठाउने, जनकपुरमा कोठा सारी उनलाई जानकारी नदिने र साहकी श्रीमतीलाई सन्देश पठाएर घरमा झगडा गराउने जस्ता कार्य गरेको बताए। घटनाभन्दा दुई महिना अघि साहले आशालाई जीविकोपार्जनका लागि अटो किनिदिएका थिए, तर आशाले त्यसलाई आफ्नो भाइको नाममा नामसारी गरिन्। घटनाको दिन साहले पटक-पटक आशालाई फोन गर्दा उनले नउठाएर छोरी अञ्जलीलाई दिएको र एकपटक कुराकानी हुँदा अञ्जलीले गाली गरेको भन्दै रिसमा आएर साहले घरबाट खुकुरी लिएर आशा बसेको कोठामा पुगी हमला गरेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments