मधेश प्रदेशमा विपत् व्यवस्थापनलाई तीव्रता, सुक्खाग्रस्त क्षेत्रमा राहत र दीर्घकालीन योजना तयार पार्ने निर्णय

20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १५ गते । जनकपुरधाममा बुधबार बसेको मधेश प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपत् प्रभावित क्षेत्रमा समन्वयात्मक र प्रभावकारी ढंगले राहत तथा पुनःस्थापना कार्य अघि बढाउने निर्णय गरेको छ। बैठकमा सहभागी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीका अनुसार, सबै सरोकारवाला निकायलाई जिल्ला विपत् व्यवस्थापन समिति र मन्त्रालयहरूसँग सहकार्य गर्न निर्देशन दिइएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई विपत् क्षेत्रका लागि प्राप्त स्रोतसाधन प्रयोग गरी तत्काल राहत कार्य गर्न अनुरोध गरिएको छ।

त्यसैगरी, विकास साझेदारसँग ऊर्जा मन्त्रालयको सहकार्यमा भएको वास क्लस्टर बैठकले सुक्खाग्रस्त क्षेत्रको पहिचान, नयाँ बोरिङ आवश्यक परे दोहोरोपना नहोस् भनी समन्वयमा कार्य गर्ने, वैकल्पिक कृषि प्रवर्द्धन र चुरे संरक्षणमा दीर्घकालीन योजना ल्याउने निर्णय गरेको छ। बैठकले नेपाली सेनाबाट प्राप्त १७ वटा ट्याङ्कर र बम डिस्पोजल गाडी अस्थायी रूपमा दर्ता गर्न श्रम तथा यातायात मन्त्रालयलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ। योजनाबद्ध र दीर्घकालीन उपायमार्फत विपत् व्यवस्थापनमा प्रभावकारिता ल्याउने सरकारको स्पष्ट तयारी देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?