अन्धाधुन्ध खुकुरी प्रहार गर्दा एकको मृत्यु , दुई गम्भीर घाइते
12 घन्टा पहिले प्रकाशित

धिरेश दत्त
जनकपुरधाम, श्रावण १३ गते ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा सोमबार राति अन्धाधुन्ध खुकुरी प्रहार गर्दा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते छन् ।श्रीमती हत्यामा ५ वर्ष कारागार बसेका एक व्यक्तिले सोमबार राति अन्धाधुन्ध खुकुरी प्रहार गर्दा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते छन् । जनकपुरधाम वार्ड नं.४ स्थित स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरि बस्दै आईरहेका धनुषा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति करिब साढे ११ बजे धारिलो खुकुरी प्रहार गरि १५ वर्षकी अञ्जली कुमारी यादवको हत्या गरेका हुन् । अञ्जलीको घाँटी काटिएको छ ।
साहले सोही घरमा डेरा गरी बस्ने क्षीरेश्वरनाथ–४ का दिनेश यादवकी श्रीमती ३५ वर्षीया आशा यादवलाई पनि खुकुरी प्रहार गरेका छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । हत्या गरिएकी अञ्जली आशाकी छोरी हुन् ।यस्तै, त्यही कोठामा बस्ने धनुषा मिथिला नगरपालिका–१ ढल्केवरका भोगिन्द्र यादवकी १४ वर्षिया छोरी राधा यादवमाथि पनि साहले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । घाइतेहरुको उपचार जनकपुरधामको प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । घटनापछि साह फरार छन् । साह आफ्नै श्रीमतीको हत्या अभियोगमा ५ वर्ष जेल सजाय काटिसकेका छन् । घटनाको अनुसन्धान भइरहेको र दोषीलाई २४ धण्टा भित्र पक्रेर यहाँहरुबीच सार्वजनिक गर्ने धनुषा प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments