गौशालामा राजस्व विवादका कारण गोरु, खसी र माछा बजार अन्य स्थानमा सारियो

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ८ गते । महोत्तरीको गौशाला नगरपालिकाले गोरु, खसी र माछाको साप्ताहिक बजार स्थानान्तरण गरेको छ। निगौल गाई गौशालाको जग्गामा लाग्दै आएको बजारको राजस्व संकलन विवाद चर्किएपछि बजार मराहा पुलको दक्षिणपूर्वतर्फ रहेको कृषि उपज केन्द्रमा सारिएको हो। साविक स्थानमा प्रहरी परिचालन गरिएको छ भने नयाँ स्थानमा नगर प्रहरी खटिएका छन्। नगरपालिकाले बुधबार सूचना जारी गर्दै बिहीबारदेखि नयाँ स्थानमा बजार लाग्ने जनाएको हो।

तर, नयाँ बजार नदी किनारमा भएकाले व्यापारीहरू असन्तुष्ट छन्। उनीहरूले पानी, शौचालय, छहारी जस्ता आधारभूत सुविधा नहुँदा पशु खरिद बिक्रीमा समस्या भएको गुनासो गरेका छन्। २०७० सालदेखि गोरु बजार ठेक्काबाट उठेको राजस्वको २५ प्रतिशत गाई गौशालालाई दिने सहमतिमा बजार सञ्चालन हुँदै आएको थियो। तर, गौशालालाई रकम नदिएको विषयलाई लिएर सोमबार बिहान नगरपालिकाका कर्मचारी र गौशाला पक्षबीच झडप भएको थियो। यसै विवादका कारण बजार स्थान परिवर्तन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?